अवैध लागूऔषधसहित पक्राउ
प्रकाशित मिति : 28 March, 2023
झापा, बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ८ सय ग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भाबरबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०३ प ३४५६ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।