• शुक्रबार ११-२३-२०७६/Friday 03-06-2020

प्रभु साहको प्रश्न - पद छोड्छु भन्दा पनि नपाउने ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नम्बर प्रदेश अध्यक्ष प्रभु साहले पद छाड्छु भन्दा पनि नपाएको र काम गर्न पनि नपाएको गुनासो गरेका छन् ।

ad

ad

ad

 

जारी केन्द्रीय कमिटी बैठकमा  २ नम्बर प्रदेशको पार्टी कामको प्रतिवेदन प्रस्तुत गर्दै उनले प्रश्न गरे– “हामीले आफ्नो पद छोड्न पनि नपाउने र काम पनि गर्न नदिने स्थितिको अन्त्य कहिलेसम्म हुन्छ ? अध्यक्ष कमरेडबाट जान्न चाहन्छु !”

उनले दुई नम्बर प्रदेशको अध्यक्षबाट दिएको राजीनामा पार्टी सचिवालयले अस्वीकार गरेको थियो ।

प्रभु साहले आफूलाई स्थायी कमिटी सदस्य नबनाइएको पनि गुनासो पोखेका छन् । उनले प्रतिवेदन प्रस्तुत गर्दै भने, “स्थायी कमिटी र केन्द्रिय कमिटी सदस्यहरूको छनौट के कस्तो मापदण्डको आधारमा भएको हो ? जान्न चाहन्छु । साथै कतिपय केन्द्रीय सदस्यहरूको कार्य विभाजन दोहोरो–तेहेरो भएको छ । त्यसलाई सच्याउन माग गर्दछु ।”

नेकपा केन्द्रीय सदस्य रहेका साहले प्रदेश नम्बर २ को राजनीति पार्टीले आफ्नो तागतको बलमा गर्न चाहन्छ कि अन्य दलको सहारामा भन्दै प्रश्न गरेका छन् । उनले लिखित रूपमा प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “नीतिगत स्पष्टता जरुरी छ । हिजो प्रदेश सरकारमा हामी प्रतिपक्षमा हुँदा प्रदेशको प्रमुख सत्ताधारी पार्टीसँगसंघीय सरकारमा सहकार्यको औचित्य के थियो ? जान्न चाहन्छु । र अब फेरि पनि त्यस्तो गल्ती नहोस् भन्न चाहन्छु ।”

साहले अन्तर संघर्षको आवरणमा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्नेगरी भइरहेको आपराधिक गतिविधि गर्ने गराउने नेताहरूलाई कारवाहीको माग गरेका छन् । 

अन्य प्रदेशको तुलनामा कमजोर एवम् प्रतिपक्षमा रहेको प्रदेश नम्बर २ को विकास निर्माण र राजनीतिक नियुक्तिमा केन्द्र सरकार पूरै उदासिन रहेको उनको निचोड छ ।

प्रभु साहले बैठकमा पेस गरेको लिखित प्रतिवेदन

आदरणीय अध्यक्षद्वय तथा नेता कमरेडहरू, 
लाल सलाम !
    यस ऐतिहासिक केन्द्रीय कमिटी बैठकमा प्रदेश नम्बर २ को अध्यक्षको हैसियतमा रिपोर्टिङ गर्न पाउदा गौरव अनुभुति गरेको छु । प्रदेश नम्बर २ को समग्र राजनीतिक अवस्था, पार्टीको संगठनात्मक स्थिति, भएगरेका काम एवं केही सुझावहरु यहाँ प्रस्तुत गर्नु अनुमति चाहन्छु ।  

प्रदेश २ को समग्र राजनीतिक अवस्था असहज ,जटिल एवं चुनौतिपूर्ण रहेको छ । यो प्रदेशमा कसैको स्पष्ट बहुमत छैन, संविधानलाई अस्वीकार गर्ने पार्टीहरुको नेतृत्वमा सरकार छ, पार्टीका दोस्रो तेस्रो तहका नेताहरुले सरकारको नेतृत्व गरिरहेका छन्, खुल्ला सिमाना र विदेशी चासो अत्यधिक छ, जनताको ठूलो हिस्सा भ्रमित एवं अन्योलग्रस्त छन् र हाम्रो पार्टी पनि व्यवस्थित भइसकेको छैन । यो विषय आफैमा पनि चुनौतीपूर्ण हो । तत्कालीन दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्दा पनि यो प्रदेशमा संघीय समाजवादी फोरमसँग लगभग हाम्रो हैसियत बराबर छ । यति मात्र होइन् , देशका प्रमुख शक्ति नेकपा र नेपाली कांग्रेससमेत प्रतिपक्षमा रहनु आफैमा बिडम्बनापूर्ण यथार्थ हो । यो विषयलाई हामीले नजरअन्दाज गर्न मिल्दैन् । यस चुनौतिको सामना हामीले गर्नैपर्छ र त्यसका लागि प्रदेश कमिटी मात्र नभई सिंगै पार्टी नै गम्भीर हुनुपर्छ । 

आज कम्युनिष्ट आन्दोलन उत्कर्षमा पुगेर देश कम्युनिष्टमय छ तर बिडम्बना विगतमा कम्युनिष्ट आन्दोलनको आधारभुमि रहेको प्रदेश नम्बर २ मा पार्टी रक्षात्मक अवस्थामा घिस्रिन बाध्य छ । यो अवस्था सृजनामा प्रतिक्रियावादी शक्ति मात्र कारक नभई मुलभुत रुपमा हाम्रै पार्टीले पनि जनताको माग एवम् परिस्थिति अनुरुप आफ्नो नीति, निर्णय र कार्य सम्पादन गर्न नसक्नु तथा सही नेतृत्व विकासमा उदासिन हुनुजस्ता कारण रहेको छ । साथै पार्टी संङ्कटमा पर्दा अराजकता मचाउने र विद्रोहसमेत गर्ने तथा परिस्थिति सहज र पार्टी बलियो हुँदा पार्टीमा फर्किने र नेतृत्वको नजिक भई सत्ता स्वादका लागि अस्वभाविक चाकरी गर्नेजस्ता स्थानीय नेतृत्वमा देखिएको अवसरवादी प्रवृतिका कारण पनि प्रतिक्रियावादीसँग दृढतापुर्वक निरन्तर संघर्ष गर्न नसकेर हामी कमजोर भएका छौँ ।

कम्युनिष्ट विरोधि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले संविधान निर्माणसँगै कम्युनिष्ट पार्टीलाई पहाडियाको पार्टी हो भने भ्रम सृजना गरी निरन्तर आक्रमण र घेरबन्दी तीव्र बनाएको कारण पार्टीका प्रमुख नेताहरुलाई प्रदेशको सबै ठाउँमा जान सक्ने स्थिति थिएन । आम पार्टी पङ्क्ति रक्षात्मक थियो,  तत्कालीन एमालेका कमिटीहरु शिथिल अवस्थामा थिए भने तत्कालीन माओवादी कमिटीविहिन जस्तै थियो । यस पृष्ठभुमिमा पार्टी एकतासँगै असोज ५ गते हामीले प्रदेश नेतृत्वको जिम्मेवारी पाएका थियौँ । 

हामीले जिम्मेवारी पाएलगत्तै कामको प्राथमिकिकरण गर्दा हामीले मुख्यत संगठन समायोजन र आम जनतामा रहेको भ्रम चिर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्यौँ । संगठन समायोजन र पार्टी पङ्क्तिमा वैचारिक एकरुपता हासिल गर्न ठोस कार्ययोजना बनाउनुका साथै प्रतिक्रियावादीहरुको भ्रम र घेरालाई तोड्न तथा समाजमा व्याप्त साम्प्रदायिक घृणालाई सदभावमा बदल्न ठोस कार्यक्रम बनायौँ । जसअन्तर्गत जिल्ला कमिटीलाई नियमित कार्य सञ्चालन गर्न, दुवै पक्षका सदस्यता र अभिलेख अध्यावधिक गर्न, दुइटै पार्टीका कार्यालयहरु एकिकृत गर्न तथा जिल्ला मातहतका स्थानीय कमिटीहरुको एकिकरणको सिफारिस गर्नका लागि प्रत्येक जिल्लामा कार्यदल गठन गरियो । साथै जिल्ला कमिटी गठनको आवश्यक गृहकार्य गर्ने योजनासहित प्रदेश पार्टी कार्यालयको उद्घाटन गर्ने निर्णयसँगै संसदीय दल समेत एकिकरण गर्नेजस्ता कार्ययोजनाहरु निर्माण गरियो । जसअनुरुप अहिले आठै जिल्लामा जिल्ला कमिटी गठन भइसकेको र संसदीय दलको पनि एकिकरण र नेताको सर्वसम्मत चयन भइसकेको छ । ५ जिल्लाको शपथ ग्रहणसमेत भई बाँकी जिल्लामा हुने क्रममा रहेको छ । केही जिल्लाका स्थानीय तहमा संगठन समायोजन कार्य सम्पन्न भएको  र बाँकी जिल्लामा केन्द्रद्वारा जिल्ला पदाधिकारी टुंग्याउन नसकेर रोकिएको व्यहोरा अनुरोध छ । 

जनतामा रहेको साम्प्रदायिक विद्वेष हटाउन सर्वप्रथम प्रदेशस्तरीय जनकपुरमा शुरु भएको सर्वदलिय सर्वपक्षिय भेलासहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको क्रम जिल्लादेखि स्थानीय तहसम्म निरन्तर अगाडि बढ्यो । जनतामा रहेको भ्रम हटाउन संविधान र राज्यका विभिन्न तहका क्षेत्राधिकारबारे संघ, प्रदेश र स्थानीय तहसहितको नेतृत्वको उपस्थितिमा अन्तरक्रिया र सभाहरु व्यापक रुपमा गरियो । पार्टीबारे जनतामा रहेको भ्रम चिर्न आदरणीय शहिद तथा सम्मानित व्यक्तिहरुको स्मृति सभाहरु विभिन्न जिल्लाहरुमा पार्टी नेतृत्वको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो । यसै बीचमा प्रदेश कमिटीको शपथ ग्रहण तथा पहिलो बैठक पनि सम्पन्न भयो । विभिन्नस्तरका शुभकामना आदानप्रदान तथा जिल्लास्तरमा सभाहरुको आयोजना गर्दै उत्कर्षको रुपमा गत फागुन २५ गते रौतहटको गरुडामा वृहत जनसभा सम्पन्न भयो । जसमा लाखौँको जनसहभागिताले पार्टी पंक्तिमा उर्जा र उत्साहमा वृद्धि मात्र भएन आम जनतामा प्रदेश नम्बर २ मा कम्युनिष्ट पार्टी कमजोर छ भन्ने भ्रमसमेत चिरियो । उक्त सभाको उत्साहपूर्ण शक्ति प्रदर्शनले देशी विदेशी प्रतिक्रियावादीहरुमा छटपटाहटको स्थिति सृजना भयो । जसका कारण प्रतिक्रियावादीहरु झन सक्रिय भई पार्टी र प्रदेश नेतृत्वको विरुद्ध केन्द्रित भएको देख्न सकिन्छ । 

प्रदेश नम्बर २ मा जिल्ला कमिटी शपथ ग्रहणसँग जोडिएको कथित विवाद  र घटनाहरुबारे यहाँहरुले विभिन्न माध्यमबाट जानकारी  पाउँदा पक्कै पनि नमजा लागेको हुनुपर्छ । यस विषयमा म यति मात्र भन्न चाहन्छु, हामीले पार्टीको विधान र निर्देशनको अधिनमा रहि व्यापक छलफलसहित हरेक निर्णय सर्वसम्मत ढंगबाट नै गरेका छौँ । र यसमा कुनै पनि विवाद छैन सब विवाद बनौटी र माथिल्लो तहकै नेतृत्वबाट निर्दे्शित एवम् सृजित छ जसको विस्तृत व्याख्या अहिले प्रस्तुत गर्न समय अपुग हुने भएकोले उक्त घटनासँग सम्बन्धित प्रतिवेदन केन्द्रिय कार्यालयमा हामीले बुझाइसकेका छौँ । त्यस विषयमा गम्भीरतापूर्वक छलफल होस् भन्ने जोडदार माग गर्दछु । 

गरिब किसानका हकहितका लागि हामी निरन्तर संघर्ष गर्दै बाढीपीडित, हावाहुरी, असिनाजस्ता प्राकृतिक विपत्तिहरुबाट पीडित जनतालाई तत्काल राहत दिलाउन तथा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि निरन्तर अग्रणी भुमिकामा रहेर संघर्ष गर्दै आएका छौँ । लोकसेवा आयोगमा समानुपातिक समावेशी प्रतिनिधित्व, सार्वजनिक यातायातमा सीट आरक्षण तथा भाडा सहुलियत कार्यान्वयनका लागि पहल र अंगीङ्कृत नागरिकको सन्तानलाई कानुनबमोजिम नागरिकता प्रदान गर्नुपर्नेजस्ता जनपक्षिय जनसरोकारका विषयहरुमा पनि हामी निरन्तर नेतृत्वदायी भुमिका विर्वाह गर्दै आएका छौँ । देशमा भएको राजनीतिक परिवर्तनको संस्थागत विकासका लागि नयाँ साँस्कृतिक आधार निर्माण गर्न दर्जनौँ अडियो भिडियो सामग्री उत्पादन एवं प्रचारप्रसार गरी एउटा सशक्त सांस्कृतिक बदलावको अभियान नै संचालन गरिएको छ । मैथली, भोजपुरी, अवधिलगायतको अन्य राष्ट्रिय भाषा एवं संस्कृतिको विकास र प्रवर्द्धनमा जोड गर्दै नेपालको ईतिहासमै पहिलो पटक राष्ट्रिय विभुति सीताको जन्मजयन्ती भव्यताका साथ मनाउन शुरु गरिएको छ । 

प्रदेश नं. २ र स्थानीय तहमा मौलाउदै गएको भ्रष्टाचार रोक्न हामीले “भ्रष्टाचारविरुद्ध जनअभियान” नै सञ्चालनमा ल्याएका छौँ । जसअन्तर्गत ब्रोसर, पर्चा, पम्पलेट, गीत, नाटक र मोटरसाइकल र्याली जस्ता प्रचारात्मक प्रारम्भिक गतिविधिहरु गरिएको छ । साथै शिक्षामा गुणस्तरीयता एवं साक्षरता अभिवृद्धिको लागि पनि विभिन्न कार्यहरु गरिएको छ । विकास कार्यलाई प्रभावकारी बनाउन जिल्लास्तरमा विभिन्न ढङ्गको सभा गर्दै राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न यही मङ्सिर १० गते निजगढमा एउटा भव्य सभाको आयोजना गरियो । नेपालको ईतिहासमा विकासको लागि सभा गर्ने कार्यको शुरुवात नै प्रदेश नं. २ बाट भएको छ । यसरी हामीले प्रदेशको समग्र विकासका लागि चौतर्फी ढङ्गले अगाडि बढेका छौँ जसका कारण अन्य विपक्षी दल चाहेर पनि हाम्रो विरुद्ध केही गर्नसक्ने स्थिति छैन । हालै सम्पन्न उपनिर्वाचको मत परिणामले पनि त्यही संकेत गर्दछ । यो प्रदेशमा हाम्रो पार्टीको मत र सीट गुणात्मक वृद्धि भएको व्यहोरा अनुरोध छ । एक मात्र गाउँपालिका अध्यक्षको निर्वाचनमा पहिला राजपाले जितेको मधेशवादीको गढ मानिने पिपरा गाउँपालिका अध्यक्ष हामीले जितेका छौँ । हामीले पहिला उम्मेदवारी नदिन नसकेको र उम्मेदवारी दिए पनि जमानत जफत भएका वडाहरुमा समेत हामी थौरै मतान्तरले दोस्रो भएका छौँ । अधिकांश सिमाना क्षेत्रमा भएको यो उपनिर्वाचनमा सिरहाको वडा हामीले जितेका छौँ भने पर्साको एउटा वडाबाहेक बाँकी सबैमा हाम्रो गुणात्मक मत बढेको छ । विगतको तुलनामा दुइटा वडा बढी जितेको संघीय समाजवादी फोरमले अन्य ४ वडामा कतै उम्मेदवारी दिन सकेन भने कतै जमानत जफत भएको स्थिति छ ।  राजपा र कांग्रेसको स्थिति झन खस्किदो छ । यो तथ्यको आधारमा हामी भन्न सक्छौँ कि मधेशी जनता हिजोको मानसिकतामा छैन, आज हाम्रो पार्टीका साथ गोलबन्द भई अगाडि बढ्न तत्पर छन् । त्यस्तै हालै भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि विभिन्न खाले अडकलबाजी र अनुमानलाई तोड्दै जीत हासिल गर्न सफल भएका छौँ ।     


कमरेडहरु,
अब हाम्रा केही जिज्ञासा र सुझाव निम्नानुसार बुँदागत रुपमा राख्न अनुमति चाहन्छौँ । 
– कतिपय जिल्लामा पदाधिकारी पूर्णता पाएको छैन, जसले गर्दा सम्बन्धित जिल्लाको काम कारवाही पुरै प्रभावित भइरहेको स्थिति छ । त्यसैले जिल्ला पदाधिकारीको पूर्णता छिटो गरिदिन केन्द्र समक्ष विशेष आग्रह गर्दछु । 
–प्रदेश भित्रको कतिपय विवादित गम्भीर विषय समाधानका लागि केन्द्र समक्ष आग्रह गरेको महिनौ हुँदा पनि निर्णय समयमा नआउदा काम गर्न अप्ठ्यारो परेको छ । यसमा छिटो ध्यान जाओस भनी विशेष आग्रह गर्न चाहन्छु । 
–दुई पक्षबीच जिल्ला पदाधिकारी बाँडफाड हुँदा आफैले बनाएको मापदण्ड विपरीत केही नेताहरुको इन्टरेस्टमा गलत ढङ्गले पदाधिकारी तोकिएको छ । जसले पार्टी संचालनमा प्रश्नैप्रश्न उठेको मात्र छैन कतिपय जिल्लामा झन समस्या बल्झिएको छ । यसलाई छिटो सच्याउन समेत आग्रह गर्दछु । 
–एकरुप वैचारिक बुझाइको अभावमा थुप्रै समस्या देखिएकोले छिटो राजनीतिक वैचारिक प्रशिक्षणको आयोजना गर्नसमेत आग्रह गर्दछु । 
–स्थायी कमिटी र केन्द्रिय कमिटी सदस्यहरुको छनौट के कस्तो मापदण्डको आधारमा भएको हो ? जान्न चाहन्छु । साथै कतिपय ऋऋः हरुको कार्य विभाजन दोहोरो(तेहरो भएको छ । त्यसलाई सच्याउन माग गर्दछु । 
–संघीयता कार्यान्वयनको ऐतिहासिक अभिभारा पाएको हाम्रो पार्टीको निर्णय, विधि, शैली र आचरण पनि संघीय व्यवस्था अनुरुप हुनुपर्छ साथै समानुपातिक समानुपातिक प्रतिनिधित्वको लागि लडेको हाम्रो पार्टीको सबै तह र कमिटीमा समानुपितक सहभागीको व्यवस्था जरुरी छ, ध्यान जाओस् । 
–प्रदेश नम्बर २ को राजनीति हामी हाम्रो तागतको बलमा गर्न चाहन्छौ कि अन्य दलको सहारामा ? नीतिगत स्पष्टता जरुरी छ । हिजो प्रदेश सरकारमा हामी प्रतिपक्षमा हुँदा प्रदेशको प्रमुख सत्ताधारी पार्टीसँग संघीय सरकारमा सहकार्यको औचित्य के थियो ? जान्न चाहन्छु । र अब फेरी पनि त्यस्तो गल्ती नहोस् भन्न चाहन्छु ।
–केही मन्त्रीहरुको काम कारवाही र व्यवहार हेर्दा हाम्रो सरकार हो कि होइन ? भन्ने दुविधा उत्पन्न हुने गरेको छ । जो पार्टीको लागि पक्कै सकरात्मक छैन । यस्ता शैली र कार्य सञ्चालन सच्याउन समेत अनुरोध छ । सिमाना क्षेत्रमा हाम्रो पार्टी पक्षधर जनता असुरक्षित छन् त्यसको प्रोटेक्सन तथा आम जनताको सुरक्षाको विशेष व्यवस्थाको पहल गर्नसमेत आग्रह गर्दछु ।


–देशको अन्य प्रदेशको तुलनामा हामी कमजोर एवम् प्रतिपक्षमा रहेको प्रदेश नम्बर २ को विकास निर्माण र राजनीतिक नियुक्तिमा केन्द्र सरकार पुरै उदासिन रहेको देखिन्छ । भएका राजनीतिक नियुक्ति पनि प्रदेश कमिटिको जानकारी वा सिफारिसमा भएको छैन । अमुक व्यक्तिको सिफारिसमा नियुक्ति गर्ने परिपाटीलाई रोकियोस् । 
–प्रधानमन्त्री र मन्त्रीहरुले विकास निर्माणबारे सार्वजनिक ढङ्गले बोलेको कार्यहरु समयमा नहुँदा हामी अप्ठयारोमा परेका छौँ । हाम्रा नेतृत्व प्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको छ । यस्ता वचनवद्धता जो जसको पालामा भएपनि काम जसरी पनि पुरा गर्ने संस्कार स्थापित गर्न जरुरी छ । । 
–बाढपीडितका लागि सरकारबाट खासै सम्बोधन भएको छैन, जसले साम्प्रदायिक सोच अर्थात भुकम्पपीडितलाई हेर्ने सरकार बाढपीडितलाई नहेर्ने जस्ता साम्प्रदायिक सोचहरु विकास हुन सहयोगी देखिएकोले यसलाई तुरुन्त सम्बोधन गर्न आग्रह गर्न चाहन्छु । 
–हामीले आफ्नो पद छोड्न पनि नपाउने र काम पनि गर्न नदिने स्थितिको अन्त्य कहिलेसम्म हुन्छ ? अध्यक्ष कमरेडबाट जान्न चाहन्छु ।  
–अन्तर संघर्षको आवरणमा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्नेगरी भईरहेको आपराधिक गतिविधि गर्ने गराउने नेताज्यूहरूलाई कारवाही होस भन्ने आग्रह गर्दछौँ । धन्यवाद । 

  प्रभु साह
अध्यक्ष, नेकपा प्रदेश नं. २ 
मितिस् २०७६ माघ १७ गते

 

प्रतिकृया दिनुहोस

धनकुटाको त्रिशुलेमा बस जुध्दा १३ यात्रु घाइते

धनकुटा । धनकुटा नगरपालिका–२ त्रिशुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट

कोशीटप्पु महोत्सव शुरु, मुख्यमन्त्री राई हात्ती चढेर महोत्सव स्थल पुगे

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन

बिराटनगरको नोबेल मेडिकल कलेजले एमबिबिएसका बिद्यार्थीबाट २८ लाख बढी मागेको आरोप

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा २८ लाख बढी शुल्क माग्ने गरेको भन्दै अभिभावकले जिल्ला प्रशासन कार्यालय मोरङमा